डा. रामचन्द्र बास्तोला -चिसो मौसमले नवजात शिशु एवं ५ वर्ष मुनिका बच्चाहरुमा विशेष समस्या निम्त्याउने गर्दछ । यो समयमा विभिन्न रोगको संक्रमणले उनीहरुलाई ग्रसित बनाउँछ । जन्मिदा कम तौल भएका बच्चाहरु चिसोको चपेटामा पर्ने संभावना बढी हुन्छ । त्यसैले उनीहरुको उचित हेरचार गर्न जरुरी हुन्छ ।
प्रतिदिन विश्वमा करिब ८ हजार नवजात शिशुहरुको मृत्यु हुन्छ । दक्षिण एसियामा करिब तीन हजार नवजात शिशुहरुको प्रतिदिन मृत्यु हुन्छ । सन् २०१३ मा मात्रै करिब २८ लाख नवजात शिशुहरुको मृत्यु भएको थियो । मल्टिइन्डेक्स कलस्टर सर्वे २०१४ का अनुसार नेपालमा १ हजार शिशु मध्ये २३ जिवित जन्मेर मृत्यु हुने मध्येमा पर्दछन्।
नवजात शिशुहरुको मृत्युको एउटा मुख्य कारण चिसोपनले गराएको शिताङ्ग र त्यसको असर हो । त्यसैले यसबाट जोगाउन उचित सावधानी अपनाउन जरुरी छ ।
के हो त शिताङ्ग ?
शिताङ्ग भन्नाले शरिरको तापक्रम ३६.४ से.वा सो भन्दा कम भन्ने बुझिन्छ । घरमा थर्मोमिटर नभएको अवस्थामा यदि बच्चाको हातखुट्टा वा पेट चिसो भएको छ भने शिताङ्ग भएको बुझ्नु पर्दछ ।
शिताङ्ग भएका शिशुमा देखिने लक्षण
शिताङ्ग भएपछि नवजात शिशुमा निश्चित लक्षण देखिन्छन् । कतिपय अवस्थामा तिनलाई नजरान्दाज गर्दा शिशुले ज्यान गुमाइरहेको हुन्छ । शिताङ्ग भएको शिशुमा देखिने साझा लक्षण यसप्रकार छन्ः
हात खुट्टा चिसो हनु
बच्चा अरुबेला भन्दा कम चल्नु वा धेरै झिझिनु
लुथ्रक्क पर्नु
आमाको दूध कम चुस्नु वा चुस्न नमान्नु
शिताङ्गबाट जोगाउने उपायहरु
बच्चालाई शिताङ्ग भइसकेपछि जोगाउन खोज्नुभन्दा पूर्व साबधानी अपनाउनु राम्रो हुन्छ । हुनु भन्दा पूर्व के गर्ने र भइसकेपछि के गर्ने ?
स्वास्थ्य संस्थामा बच्चा जन्माउने र जन्माउन प्रेरित गर्ने
जन्मिएपछि राम्ररी बच्चा पुछ्ने र न्यानो ठाउँमा राख्ने । न्यानो पार्नको लागि आमाको शरिरमा टाँसेर राख्नु सबैभन्दा राम्रो हुन्छ ।
न्यानो कपडा लगाइदिने ।
आधा घण्टादेखि एक घण्टाभित्र बच्चालाई आमाको दूध चुसाउने ।
बच्चालाई घर लैजाने बेलामा विशेष कपडाले बेरेर मात्र लैजाने ।
कम तौलको (२५०० ग्राम) बच्चा छ भने मायाको अंगालो (कङ्गारुले बच्चा च्यापे जस्तै गरी) विधि प्रयोग गरि न्यानो राख्ने ।
बच्चाको टाउको न्यानो टोपीले ढाक्ने ।
यदि आफ्नो शिशु शिताङ्गको चपेटामा परेको महशुस भएको छ भने सक्दो नजिकको स्वास्थ्य संस्थामा पुर्याउनु बुद्धिमतापूर्ण हुन्छ ।
-स्वास्थ्य खबर पत्रिकाबाट साभार ।

